Skip to content

भ्रातृपूजाको उपसंहार

कागतिहारदेखि भ्रातृद्वितीयासम्मका पाँचै दिन महत्त्वपूर्ण मानिन्छन्। काग, कुकुर, लक्ष्मी, गौमाता, गोबलि (गोरु), गोवद्र्धन, यमराज, धन्वन्तरि, यमुना, भाइपूजा/भाइटीका, भगिनीपूजा गरी ११ भन्दा बढी देवताहरूको पूजा हुने पर्व भएकाले यसको महत्त्व धेरै छ।

म्हपूजा यसको विशेष एवं फरक पाटो हो। म्ह भनेको आत्मा पूजा भएकाले सबै मानवजातिले पूजालाई महत्त्वका साथ लिनुपर्ने हुन्छ। पहिले आफ्नो आत्मालाई चिन अनि बाह्य व्यवहार गर भन्ने सन्देश म्ह पूजाले दिएको हो। दीपावलीमा बत्तीको रमझम बाहिर भएजस्तै भित्री आत्माको रमझम म्ह पूजा भएकाले भित्रबाहिरै उज्यालो एवं निर्मल बनाएर नकारात्मक सोच हटाई सकारात्मक सोचको अभिवृद्धि तथा सबै प्राणीको कल्याण नै यमपञ्चक अर्थात् तिहारको सन्देश हो।

दुईखुट्टेमा काग चारखुट्टेमा कुकुरदेखि धनधान्यकी देवी लक्ष्मीसम्मको पूजाका साथै भ्रातृ–भगिनीबीच आजीवन अक्षुण्ण एवं अटुट सम्बन्ध कायम राख्नुपर्छ भन्ने सन्देश पनि तिहारले दिएको छ। प्रकृतिका पर्वत, धान्यादि उत्पादनमा गाई, गोरु, गोवर्धन पर्वत जस्ता प्रकृतिस्तम्भहरूको पूजाबाट प्राणीजगतको कल्याणका लागि अघि बढ भनेर जगतका सबै मानिसलाई अग्रगामी सोच राखी प्रकृतिको समीप रहन र प्रकृतिलाई नबिगारी यथारूपमै संरक्षण गर्दा जगतमा सुखशान्ति एवं कल्याण प्राप्त हुने सन्देश पनि तिहारले दिएको छ।

नेपाली–संस्कृत पूजा विधि र ग्रन्थ सङ्ग्रह