Skip to content

नाग पञ्चमी

श्रावण शुक्लपक्षको पञ्चमी तिथिमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ। यस दिन घरघरमा नागको पूजा गरिन्छ र नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबो, पैसा राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी नागका आठ कुल छन्। यी अष्टकुल नागको पूजा गरी मूल ढोकामाथि नागको चित्र टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। नाग देवता भूमिमा बस्छन्। भूमिमा खनजोत गर्दा नागलाई कष्ट हुने सम्भावना देखिएकाले नागपञ्चमीका दिन हलो जोत्न र जग खन्न हुँदैन भन्ने मान्यता छ।

नागपञ्चमीका दिन नागको विशेष पूजाआजा गरिन्छ। यस दिन नाग देवताको प्रसन्नताका लागि दिनभरि व्रत बसी सूर्यास्तपछि नाग देवतालाई खीर चढाई प्रसाद ग्रहण गर्ने चलनसमेत रहेको छ। यसरी नागको पूजा–उपासना गरी द्वारमा नाग–नागिनीको चित्र टाँस्नाले सर्पभय हुँदैन भन्ने जनविश्वास छ। नाग पञ्चमीका दिन कामठमाडौंको टौदह, नागपोखरी लगायत नागको स्थान रहेका विभिन्न तलाउ, पोखरी र नागस्थानमा समेत धार्मिक मेला लाग्ने गर्दछ।

नेपालमा नाग पञ्चमीको दिन ब्राह्मण पुरोहित अथवा कन्याहरूले कागजमा विभिन्न नागका चित्र हातैले बनाएर यजमानका घर घरमा पुर्याई टाँस्ने गर्दछन्। यसरी बनाएको नागको चित्रसँगै सूर्य, चन्द्र, शङ्ख, चक्र, गदा, पद्म, माछा, बिच्छी, खजुरो आदिका चित्र पनि समावेश हुन्छन्। नागसँगै खेतबारीमा भेटिने अन्य विषालु जीवहरूको समेत भय नहोस् भनी तिनको पनि चित्र बनाउने चलन छ। नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। गाउँघरमा यही चित्रलाई नागदेवताको प्रतिमा मानी पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ।

पूजा सामग्रीहरूको पूर्ण सूची

धानचामलअक्षताजौ
तिलदुबोकुशसिन्दुर
चन्दन / गन्ध (श्रीखण्ड)पुष्प (फूल)धूपदियो / दीप (बत्ती)
वस्त्र (कपास)कलशगणेशजीको प्रतिमा१०८ काने दुना
गाईको दूधदहीगाईको दूधको खिरधानको लाभा
रोटीलड्डुअलैंची वा सुपाडीअर्घ्यको जल
हातखुट्टा धुने जलखानेपानीचुठ्ने पानीसादा पानी
कर्मपात्रको जलपैसा (दक्षिणा)गाईको गोबरनागको चित्र (अष्टनाग सचित्र)

नाग पूजा गर्ने विधि

एउटा टपरीमा धान र त्यसमाथि अर्को टपरीमा चामल राखी त्यसमाथि दियो र त्यसैगरी कलश अनि गणेशको स्थापना गरी पाध्य, अर्ध, आचमन, स्नान, वस्त्र(कपास), गन्ध(श्रीखण्ड), पुष्प, धुप, दिप र नैवेधले पूजा गर्ने । नागलाई पुजा गर्न १०८ काने दुना तयार पार्ने र जस मध्ये :

  • हातखुट्टा धुनका लागि नागनागिनिलाई ८ वटा दुनामा र नागका बच्चाहरुलाई एउटा दुनामा जल टक्र्याउने ।
  • पहिल्यै तयार गरी राखेको अर्घ ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
  • धानको लाभा तयार गरी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
  • रोटीलाई पनि ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
  • गाईको दुधलाई ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
  • गाईको दुधबाट बनेको खिर ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
  • नागलाई खानेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
  • नागलाई चुठ्नेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
  • अलैचि वा सुपाडी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।

थप जानकारी:

  • ९ वटा सामग्रीहरूका लागि: प्रत्येक सामग्रीको लागि ९ दुना (८ नाग-नागिनी + १ बच्चाहरू) गरिन्छ। यसरी ९ × ९ = ८१ दुना प्रयोग हुन्छ।
  • बाँकी २७ दुनाहरू: पूजा सकिएपछि सादा पानीले भरिन्छ, जसले गर्दा कुल संख्या १०८ पुग्दछ (८१ + २७ = १०८)।

र यसरी पुजा गरि बाँकी रहेका दुनामा पानीले भर्नु पर्दछ । यसरी पुजा गरिसकेपछि गाईको दुधको खिरले १०८ पटक हवन गर्नुपर्दछ । साथै, कर्मपात्रोको जल चोबेर अर्को दुनामा राख्ने गरिन्छ । हवनको मन्त्र भने आफ्नो आफ्नो इच्छा र सहजताको आधारमा प्रयोग हुन्छ (गायत्रीमन्त्र, पुरुषशुक्त, सर्पसर्वाङ्गी आदी ।)

अष्ठनाम बनाइ माछा, गंगटो, खजुरो, सर्प आदि वरिपरी पारी तयार गरिएका सचित्रहरुलाई पनि सिन्दुर, अक्षता, जौ, तिल, दुवोले पुजा गरिन्छ । सो तस्विरलाई घरमा लगी मुलढोका माथि भित्तामा गाइको गोवरको लेप लगाइ टाँसिन्छ । पुजाको अन्त्यमा हे नाग देवता मैले केही जाने बुझेको छैन, पूजा गर्दा गल्ती कमिकमजोरी भएको भए माफ पाँउ, मेरो पूजाबाट खुसी हुनु होस् भनि विनम्रभाव प्रकट गर्नुपर्दछ । यसरी शरणागत भइ पूजा सम्पन्न हुन्छ ।

नागदेवतालाई पूजा गरी दूध, दूबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरिन्छ । यसरी पूजा गरेर तलको नाग स्तोत्र पाठ गर्नुपर्दछ–

श्रीनागस्तोत्रम्

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः ॥१॥

मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डले ॥२॥

अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ॥३॥

यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥

अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी।
एह्येहि मनसा देवि !नागमातर्नमोऽस्तुते ॥५॥

नागप्रार्थना

ब्रह्मलोके च ये सर्पाः शेषनागाः पुरोगमाः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥१॥

विष्णु लोके च ये सर्पाः वासुकिप्रमुखाश्च ये।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥२॥

रुद्रलोके च ये सर्पाः तक्षकः प्रमुखास्तथा।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥३॥

खाण्डवस्य तथा दाहे स्वर्गञ्च ये च समाश्रिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥४॥

सर्पसत्रे च ये सर्पाः आस्तिकेनाभिरक्षिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥५॥

प्रलये चैव ये सर्पाः कर्कोटप्रमुखाश्चये।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥६॥

धर्मलोके च ये सर्पाः वैतरण्यां समाश्रिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥७॥

इन्द्रलोकेषु ये सर्पाः तक्षकप्रमुखादयः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥८॥

ग्रामे वा यदि वारण्ये ये सर्पाः प्रचरन्ति च।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥९॥

पृथिव्यां चैव ये सर्पाः ये सर्पाः बिलसंस्थिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥१०॥

रसातले च ये सर्पाः अनन्तादि महाबलाः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥११॥

१. अष्ट नाग स्तोत्र

पूजाको अन्त्यमा अर्घ दिँदै वा हात जोडेर पाठ गर्ने मुख्य स्तोत्र यस प्रकार छ:

अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम् ।
शङ्खपालं धृतराष्ट्रं तक्षकं कालियं तथा ॥
एतानि नव नामानि नागानां च महात्मनाम् ।
सायङ्काले पठेन्नित्यं प्रातःकाले विशेषतः ॥
तस्य सर्पभयं नास्ति सर्वत्र विजयी भवेत् ॥

(अर्थ: अनन्त, वासुकि, शेष, पद्मनाभ, कम्बल, शङ्खपाल, धृतराष्ट्र, तक्षक र कालिय—यी नौ नाग देवताहरूको नाम हरेक बिहान-बेलुका पाठ गर्नाले सर्पको भय हुँदैन र सर्वत्र विजय प्राप्त हुन्छ।)


२. पूजा गरिने अष्ट नागहरू

चित्रमा पूजा गर्दा ध्यान गरिने आठ प्रमुख नागहरू र तिनका विशिष्ट मन्त्र निम्न हुन्:

क्र.सं.नागको नामपूजा गर्दा जप गर्ने विशिष्ट मन्त्र
अनन्त नागॐ अनन्ताय नागदेवतायै नमः ॥
वासुकि नागॐ वासुकये नागदेवतायै नमः ॥
तक्षक नागॐ तक्षकाय नागदेवतायै नमः ॥
कुलिक नागॐ कुलिकाय नागदेवतायै नमः ॥
कर्कोटक नागॐ कर्कोटकाय नागदेवतायै नमः ॥
पद्म नागॐ पद्माय नागदेवतायै नमः ॥
महापद्म नागॐ महापद्माय नागदेवतायै नमः ॥
शङ्ख नागॐ शङ्खाय नागदेवतायै नमः ॥

पूजा गर्दा मन्त्र कसरी प्रयोग गर्ने?

  • ध्यान गर्दा: हातमा फूल र अक्षता लिएर पालैपालो प्रत्येक नागको नाम मन्त्र उच्चारण गर्दै तस्विर वा मूर्तिमा अर्पण गर्नुहोस्।
  • हवन गर्दा: यदि यी आठ नागहरूको नाममा हवन (आहुति) दिन चाहनुहुन्छ भने, मन्त्रको अन्त्यमा "स्वाहा" थप्नुहोस् (जस्तै: ॐ अनन्ताय नागदेवतायै नमः स्वाहा।)।

३. मूल ढोकामा टाँस्दा भनिने प्रार्थना मन्त्र

गोबरको लेप लगाएर घरको मूल ढोकामा नागको चित्र टाँस्दा सुख-शान्तिका लागि यो मन्त्र उच्चारण गरिन्छ:

"अस्तिकस्य मुनेर्माता भगिनी वासुकेस्तथा ।
जरत्कारुमुनेः पत्नी मनसादेवी नमोऽस्तुते ॥"

Last updated:

नेपाली–संस्कृत पूजा विधि र ग्रन्थ सङ्ग्रह